News Griha :: न्यूजगृह
अशोक राई भन्छन्– ...अनि पार्टी विभाजन गर्न बाध्य भयौँ 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको नेतृत्वले पार्टीलाई कब्जा गर्न खोजेपछि आफूहरु विभाजनको बाटोमा लाग्नुपरेको दाबी गरेका छन्।  

पार्टी विभाजनपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्ने र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नुपरेको बताए।

Prabhu Bank

उपेन्द्र यादव अमेरिका गएको बेला खुसुक्क किन पार्टी फुटाएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सिर्जना गरिदिएको बताए। 

उनले भने,‘महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न भयो। उहाँ (उपेन्द्र यादव) अमेरिका उड्नु भन्दा अगाडि परिपत्र जारी गर्नुभएको थियो। त्यो परिपत्र त्यसको नमुना र प्रमाण हो। नेताहरुसँग छलफल नै नगरी बैठक बोलाउनुभयो। एक्कासी आठ जना कार्यकारिणीको उपस्थिति भयो दश जना आएनन्। त्यस्तै निर्णय गर्दै र सोही अनुसारको परिपत्र गरेर हिड्नुभयो। अमेरिका गएको बेला खुसुक्क किन गरेको भन्नुहुन्छ भने उहाँले वातावरण नै त्यस्तो बनाइदिनुभयो।’

सदस्यताको रेकर्डपनि प्रमाणीत गर्न नपाईने र महाधिवेशनका प्रतिनिधिहरु छान्ने र छानिने कुरामा पनि सन्तुलित ढङ्गले नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको पनि बताए। 

उनले महाधिवेशन अनियमित ढङ्गले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणित गर्न नपाएको, लाखौं मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताए। 

त्यस्तै महाधिवेशनका प्रतिनिधिहरु छान्ने अनुपात पनि कुनै सन्तुलित ढङ्गले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ।

राजनीतिप्रति घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफुहरु अगाडि आएको उनको भनाइ थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:२४
Weather Update