
काठमाडौं— भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ। यसअघि फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो।
भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो।भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको खोप हासिल गरेको छ। तर नयाँ भेरियन्टको उदयसँगै पुरानो खोपको माग घटेको छ। डिसेम्बर २०२१ मा हामीले खोप निर्माण गर्न रोक्यौं र कोभिशिल्ड खोपको आपूर्ति पनि रोक्यौँ।’
उनले थपेका छन्, ‘हामी विद्यमान सरोकार र सुरक्षा मापदण्डहरूप्रति प्रतिबद्ध छौं । सन् २०२१ मा खोपको प्याकेजिङमा असामान्य साइड इफेक्टको बारेमा जानकारी दिइएको छ।’
कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्ने एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेस गरेको कागजातमा स्वीकार गरेको छ।
कोरोना भ्याक्सिन पाएका धेरैले खोपको साइड इफेक्टको लागि क्षतिपूर्तिको माग गर्दै यो औषधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।
यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन्।













