News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ। सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।

पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। 

Prabhu Bank

स्वर्गीय गुरुङप्रति शोक प्रस्ताव पारित गर्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए। ‘पार्टीका नेता, पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको विषयमा छलफलका लागि सभापतिजीले आकस्मिक बैठक राख्नुभएको छ,’ उनले भने, ‘बैठकले शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि आजै उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ।’

उनका अनुसार सम्भवतः बैठकले शोक प्रस्ताव पारित गरेपछि बिहीबार गर्ने भनिएका पार्टीका बैठक र कार्यक्रमहरू समेत स्थगित हुनेछन्। गुरुङको मंगलबार उपचारको क्रममा काठमाडौंको हिमाल अस्पतालमा निधन भएको थियो। १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए।

त्यसपछि पञ्चायत विरुद्धको आन्दोलनमा लागेर भारतमा निर्वासन जीवन समेत बिताएका उनी पछि पञ्चायतमा लागेर २०३९ सालदेखि ०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति समेत भए। उनी ०५६ सालमा ताप्लेजुङबाट कांग्रेसको उम्मेदवार थिए। 

२०६४ मा भने उनी माओवादीका राम कार्कीलाई पराजित गर्दै प्रतिनिधि सभाको सदस्य बने। २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बनेका थिए। उनले करिब १० वर्ष कांग्रेसको ताप्लेजुङ जिल्ला सभापति भएर काम गरेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३९
Weather Update