News Griha :: न्यूजगृह
उपेन्द्र यादवको अलमल!

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकार मै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा छन्। बुधबार पत्रकार सम्मेलन गरेर सरकार मै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि यादवले सरकार छोड्ने साहस गर्न सकेनन्। उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए।

उनले पत्रकार सम्मेलनमा आफूहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे। उनले यसका लागि अदालत जाने पनि बताए।

Prabhu Bank

तर सत्ता समीकरण कै प्रमुख दलका नेताहरूको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएका छैनन्।

उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल विभाजन गरेर हतार हतार प्रमाणपत्र समेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमान थियो। अनुमान विपरित उनी सरकारमै रहने र आफू अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिएका हुन्।

प्रतिनिधि सभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि उपेन्द्रको संसदमा हैसियत कमजोर बनेको छ। उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर पार्टी विभाजन गरिएको आरोप लगाए। 

राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेस प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिएको छ। मधेस प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेश सभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ।

उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेस प्रदेशमा आफ्नो पकड कायम राख्न समेत अलिकति ‘डिफेन्सिभ’ देखिएको विश्लेषण गरिएको छ। केन्द्रमा सत्ताबाट हट्नासाथ मधेस प्रदेशको सरकार समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ। १०७ सदस्यीय मधेस प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।

मधेस प्रदेश सभामा जसपा नेपाल तेस्रो ठुलो दल हो। अहिले एमाले—माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छोड्ने बित्तिकै मधेसको सरकार ढल्ने देखिन्छ।

मधेसमा जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ। मधेसमा जनमत पार्टी र जसपा नेपाल आमने—सामने रहेकाले तत्काल एक ठाउँमा आउने सम्भावना देखिदैन। सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका हुन्। 

जसपा फुट प्रकरणमा सत्ता समीकरणका शीर्ष नेताहरूको भूमिका लुकेको छैन। यो उपेन्द्र यादवले राम्रोसँग बुझेका छन्। तर मधेसको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ। अबका दिनमा उनले केन्द्रको सत्ता छोड्नु पर्ने अवस्थामा कांग्रेससँग हात मिलाएर जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेतलाई साथ लिने प्रयास गर्नुपर्ने देखिन्छ।

उनले भनेको न्यायिक लडाइ आफ्नो ठाउँमा छ। यो प्रक्रिया तुरुन्त नतिजा दिने किसिमको देखिदैन। त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौँ, हामी सरकार मै छौँ भनेर नयाँ रणनिति बनाउने समय लिएको देख्न सकिन्छ। 

जसपा नेपाल फुटाएर माधवकुमार नेपालको बार्गेनिङ पावर घटाउने देखि जसपा नेपाललाई साइजमै ल्याएर सम्भावित समीकरण फुट्नबाट जोगाएको छैन, कांग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ।

यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउँछन् भन्ने सबैको चासोको विषय बनेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:००
Weather Update