News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री अपदस्थ, नयाँ सरकार गठनका लागि आह्वान
कोशी प्रदेश प्रमुख परशुराम खापुङ/फाइल तस्बिर।

काठमाडौं— कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरी दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

कोशीमा मुख्यमन्त्री कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

Prabhu Bank

चैत २६ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। एमाले र माओवादीले आफूहरूले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले वैशाख २५ सम्म प्रदेश सभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए। 

त्यस्तै, प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए २५ वैशाखपछि पदमुक्त हुने व्यहोरा को संकल्प प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए। उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो।

मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ (५) बमोजिमको मुख्यमन्त्रीले विश्वासको मत लिन नपर्ने अडान राख्दै आएका थिए। 

बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीले विश्वासको मत नलिई ३० दिन गुजारेकाले सरकार रिक्तताको अवस्था रहेको भन्दै नयाँ सरकार गठन आह्वान गर्न माग गरेका थिए।

प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय पनि माग गरेका थिए। महान्यायाधिवक्ताको कार्यालयले राय पठाएपछि बुधबार राति ११ बजे नयाँ सरकार गठन आह्वान गरिएको हो।

सरकार गठनको आह्वान भएपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्कीले दाबी पेस गर्ने तयारी गरेका छन्। 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ। एमालेसँग ४० र माओवादी केन्द्रसँग १३ सांसद गरी ५३ जना सांसद रहेकाले सरकार निर्माणका लागि दुई दलसँग बहुमत छ।

सरकार गठन आह्वानविरुद्ध मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन्। उनी सर्वोच्च जानुअघि नै मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्ने तयारी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:०५
Weather Update