News Griha :: न्यूजगृह
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

काठमाडौं— दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्।

राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे। गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ। राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको सहयोग नमूनाका रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन्। 

हाल दक्षिण कोरियामा ईपीएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन्।

Prabhu Bank

‘कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ,’ राजदूत पार्कले भने। 

हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन्। आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए। 

दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ। त्यसमध्ये नेपाल पहिलो स्थानमा छ। 

सो अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोईका) का नेपाल प्रमुख कोङ मुहनले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएका सहयोगबारे जानकारी गराए। कोईकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा सहयोग गर्दै उनले बताए।

कोईकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ। 

कोईकाअन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत दोअ किमले कोरियाबाट फर्केका नेपाली कामदारलाई यहीँ स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताबारे जानकारी गराएका थिए। सन् १९९१ मा स्थापना भएको कोर्ईकाले हाल ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:१६
Weather Update