News Griha :: न्यूजगृह
‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’

रुसी सेनामा भर्ती भई पीडित बनेका नेपाली नागरिक र पीडित परिवारका लागि लामो समयबाट अनशन र धर्नामार्फत न्याय दिलाउन लागिपरेकी कृतु भण्डारीले मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि केही समय अनशन र धर्नालाई स्थगित गर्ने निणर्य गरिन। तर, उनले सरकारले आफूहरूले उठाएको माग सम्बोधन गर्न तदारुकता नदेखाए अभियानको तर्फबाट पुनः अनशन बस्ने चेतावनी पनि दिइन। पीडित परिवारका लागि न्याय दिलाउन संघर्ष गरिरहेकी भण्डारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानी:  

तपाईँहरूले ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ नाम दिएर निरन्तरजसो धर्ना लगायतका कार्यक्रमहरू गर्दै आउनुभएको छ। अभियान के का लागि?

रुसमा रहेका नेपाली नागरिकहरूलाई नेपाल ल्याउनका लागि कूटनीतिक प्रयत्न गर्न हामीले अभियान सञ्चालन गरेका हौं। रुसले नेपाली मात्रै नभएर अन्य देशका नागरिकहरूलाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको छ। आफ्नो सुरक्षा कवचलाई रुसले सहजै पठाउँदैन भन्नेमा हामी ढुक्क छौं।

Prabhu Bank

यद्यपि राज्यले नागरिकको जीवन रक्षाको सन्दर्भमा सबै किसिमका कूटनीतिक प्रयत्न गर्नुपर्यो भन्ने हाम्रो माग हो। हाम्रा कुरा रुसले सुन्दैन भने पनि रुससँग कूटनीतिक सम्बन्ध राम्रा भएका राष्ट्रसँग आग्रह गरेर सबै काम छोडेर नागरिकको जीवन रक्षाको लागि सबै काम छोडेर भएपनि सरकारले यो विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो। त्यो अनुभूति नभएरै हामीले आन्दोलन गरेका हौं, आन्दोलन गर्नुपर्ने विषय नै होइन नि यो।

यतिका मानिसको परिवारसँग भेटेर रुसमा रहेका नागरिकको विवरण संकलन गरेर हामीले बुझाएका छौं। तर सरकारले आफ्नो कमीकमजोरी र त्रुटि लुकाउन उल्टो हामीलाई नै अमानवीय व्यवहार गर्नु गलत छ। यो विषय अवैधानिक रूपमै गएका भएपनि ती राज्यले नै अवसर दिन नसक्दा कामको लागि युद्धग्रस्त देशमा पुगेका हुन्। ती नागरिकको अन्तिम अभिभावक राज्य हो र उनीहरूको जीवन रक्षा गर्ने न्यूनतम दायित्व पनि राज्यकै हो। त्यो दायित्वबाट पन्छिन खोजिरहेको अनुभूति हामीलाई भएकै कारण राज्यलाई उसकै जिम्मेवारी बोध गराउन बाध्य भयौँ।

मंगलबार मात्रै रुसमा रहेका नागरिकलाई स्वदेश फर्काउन उच्च स्तरमा कूटनीतिक पहल गर्छु भनेर प्रधानमन्त्रीले भनिरहँदा तपाईंले राज्यले कूटनीतिक पहल नै राम्रोसँग गरेन भने जस्तो गर्नुभयो नि त्यो किन?

रुसमा पुग्ने नेपाली जतिपनि हुनुहुन्छ उहाँहरु राज्यको लागि केही सङ्ख्याको नागरिक मात्रै होलान् तर परिवारको लागि त त्यो व्यक्ति विश्व ब्रह्माण्ड नै हो नि। मानौं युद्धमा एक नेपालीले मृत्यु भयो रे यहाँ रहेको सानो बालकले बाबु गुमाएपछि त्यो फर्केर आउँदैन नि ! त्यो श्रीमतीको श्रीमान, त्यो आमाको छोरो फर्केर आउँदैन।

राज्यको लागि उ नागरिक हो तर परिवारको लागि उ नै ब्रह्माण्ड हो नि। त्यसैले यो विषयको संवेदनशीलता र गाम्भीर्यलाई राज्यले बुझ्नुपर्छ। कुन राष्ट्रसँग हाम्रो कूटनीतिक सम्बन्धन राम्रो छ राज्यले उ मार्फत पनि आग्रह गरी पहल गर्नुपर्छ। राज्यले आफ्नो नागरिकको जीवन रक्षाको सन्दर्भमा आफूसँग भएका स्रोत, साधन र शक्ति सबैको प्रयोग गर्नुपर्छ, हाम्रो माग नै यही हो।

प्रधानमन्त्रीसँग भेटपछि त्यहीबाट धर्ना रोक्ने निर्णय यहाँहरूले गर्नुभयो। अभियानका तर्फबाट राखेको माग सम्बोधन हुने वातावरण देखेर हो? के भन्नुभयो प्रधानमन्त्रीले? 

हामीले १३ बुँदे माग सहित १७ दिन त निरन्तर सडक संघर्ष गर्यौँ। त्यसपछि पनि धर्ना लगायतका कार्यक्रमहरू निरन्तरजसो नै गरेका हौं। सिंहदरबार र बालुवाटारको बीचमा १७ दिनसम्म आमरण अनशन बस्दा समेत राज्य बेखबर भयो। राज्यलाई विश्वास गर्ने कि नगर्ने? राज्यलाई विश्वास नगर्नुको विकल्प पनि हामीसँग छैन। प्रधानमन्त्रीको प्रतिवद्धतापछि पनि राज्यले ती नागरिकहरूलाई तुरुन्तै उद्धार गरेर नेपाल ल्याउँछ भन्नेमा मलाई विश्वास लाग्दैन, यद्यपि राज्यले निरन्तर कोशिश चाँहि गर्नुपर्छ।

अनशनका क्रममा हामीमाथि नै प्रहरीद्वारा जुन व्यवहार गराइयो हाम्रै जीवन रक्षाको लागि राज्य संवेदनशील नहुँदै गर्दा राज्यले रुसमा रहेका नागरिकको रक्षा तत्काल गर्छ भन्ने लाग्दैन। अहिले प्रधानमन्त्री स्वयंले हाम्रो मागको सम्बोधन गर्ने भनेर अनशन स्थगित गर्न गरेको आग्रहले स्थगित गरेका छौं। हाम्रा माग सम्बोधन गर्न राज्यलाई एक दुई दिनको समय दिएर हेर्छौं, दुई दिनभित्र हाम्रा माग राज्यबाट सम्बोधन भएनन् भने आमरण अनशनलाई निरन्तरता दिन्छौं।

तपाईंले अभियान नै सञ्चालन गरेर रुसमा पुग्ने नेपालीको परिवारसँग विवरणहरू संकलन गर्नुभएको छ, परिवारका सदस्यले कस्ता गुनासा धेरै सुनाउँछन्? आफन्तको खोजीका लागि आउनेको अवस्था कस्तो पाउनुहुन्छ ? 

परिवार र आफन्तको अवस्था मर्नु न बाँच्नुको बीचको परिस्थिति भोगिरहेका छन्। कतिसम्म भने यता परिवारलाई उताका रुसी सैनिकका कमान्डर वा साथीले तिम्रो मान्छे मरिसक्यो भनिदिएको छ, तर उसको मृत्यु भएको कुनै प्रमाण दिँदैनन्, फोटो हेर्नलाई यहाँ परिवार र आफन्त तड्पिएका छन्।

कतिपयलाई तिम्रो मान्छेको मृत्यु भयो मात्रै भनेर सूचना दिएका छन् यहाँ आफन्त र परिवारले त्यसको पुष्टि गर्ने आधार पाइन्छ कि भनेर सकेजति प्रयास गरिरहेका छन्। लामो समयबाट आफन्तको सम्पर्कमा नआएकाको परिवार पनि पीडाले विछिप्त छन। युद्धमा अंगभंग भएकाको परिवार पनि छुट्टै तनावमा छन्। धेरै पीडा भएका परिवार र आफन्तहरू हामीकहाँ आएका छन्।

तपाईँहरूले जसरी अभियानलाई अगाडि बढाउनुभयो त्यसमा केही राजनीतिक दल र सङ्घसंस्थाको प्रभाव छ भनेर सुनिन्छ नि? आन्दोलन रोक्ने दबाब वा प्रभाव केही छ कतैबाट?

कुनै पनि राजनीतिक दलको संलग्नता यसमा छैन। तपाईं देख्न सक्नुहुन्छ, कुनै पनि दलले हामीलाई औपचारिक रुपमा समर्थन गरेको छैन। त्यतिका दिन अनशन बस्दा समेत कोही हाम्रो अभियानमा ऐक्यबद्धता जनाउन आएनन्। हामी सडकमा आम पीडित नागरिकका समस्या बोकेर एक्लै नै बसेका थियौं, राजनीतिक दलका मान्छे वा उच्च ओहदामा आसीन कुनै व्यक्तिले पनि हामीले उठाएको विषयलाई खासै चासो नदिएको, बरु यिनीहरूलाई हामीले साथ दिए के फाइदा हुन्छ र भन्ने हिसाबले हेरेको हामीले अनुभूत गरेका छौं।

कुनै पनि राजनीतिक दल वा अन्तर्राष्ट्रिय शक्तिहरूको दबाब वा प्रभाव केही छैन। प्रधानमन्त्री कार्यालयबाटै हाम्रो मागको विषयमा सम्बोधन गर्ने भनेर अनशन रोक्न आग्रह आएपछि प्रधानमन्त्रीलाई नै विश्वास नगरे कसलाई गर्ने भनेर स्वविवेकले, सबै बसेर छलफल गरी प्रधानमन्त्रीसँग वार्ता गरौँ भन्ने निर्णय गरेका हौं।

हाम्रो अनशनबारे मानवअधिकार आयोगले एकचोटी स्थलगत अवलोकन गरेर विज्ञप्ति जारी गरेको छ अरु कुनै दूतावास वा सरकार गैर सरकारी सङ्घसंस्थाले हामीलाई औपचारिक वा अनौपचारिक कुनै रूपले सम्पर्क गरेको छैन। रुसी राजदूतलाई हामीले समसामयिक समस्या राखेर पटक पटक पत्र पठायौँ, दूतावास अगाडि धर्ना, प्रदर्शन पनि गर्यौँ, आफ्ना मान्छेको अवस्था जानकारी गराउन, मृतकको शव नेपाल ल्याउन समन्वयको लागि आग्रह गर्यौँ कुनै पनि कुराको सुनुवाइ दूतावासबाट भएन। 

सरकारले आफ्ना नागरिकको अवस्थाबारे चासो दिएर रुसको सरोकारवाला निकायसँग पहल गरिरहेको र हिजो पनि प्रधानमन्त्रीले उच्च नेतृत्व लेबलबाट पहल गर्ने प्रतिबद्धता गरे। अब नेपाली नागरिकलाई स्वदेश फर्काउन सम्भव होला? सरकारप्रति कत्तिको विश्वस्त हुनुहुन्छ?

रुसले सुरक्षा कवचको रुपमा नेपालीलाई प्रयोग गरिरहेको छ, उनीहरूको उद्धार पक्कै पनि सरकारका लागि समेत सहज छैन। तर, असम्भव पनि छैन, समस्या सँगै समाधानको बाटो पनि त छन्। यसमा राज्य संवेदनशील भयो भने अवश्य उनीहरूलाई फर्काउन सक्छौँ। हामीले आफ्नो अभियानबाट सात जनालाई स्वदेश फर्काउन सफल भएका छौं। प्रत्यक्ष रुपमा मसँग दुई हजार परिवारका आफन्तहरू रुसमा रहेका आफ्ना मानिसको अवस्थाबारे जानकारी दिँदै सम्पर्कमा आएका छन्।

तर, अहिलेसम्म ६९१ जनाको व्यक्तिगत विवरण मैले उनीहरूको परिवारसँग प्रत्यक्ष भेटेर संकलन गरेको छु। एउटा व्यक्तिको प्रयासले नागरिक स्वदेश फर्किएका छन्, यतिका विवरण संकलन गरेका छौं भने राज्यले चाहेमा असम्भव होला भन्ने लाग्दैन।

तपाईँसँग सम्पर्कमा आएका रुसमा पुगेका नागरिक र नागरिकका परिवारले के अपेक्षा गरेका छन्?

रुसी सेनामा पुगेका नेपाली र उनीहरूको परिवारको आआफ्नै प्रकृतिको समस्या र अपेक्षा छ। मृतकको परिवारको समस्या भनेकै शव नेपाल ल्याइदिन पर्यो भन्ने छ। मृतकका परिवारले पाउनुपर्ने क्षतिपूर्तिको कुरा छ, उता काम गर्ने सैनिकले पाउनुपर्ने तलब, सेवा सुविधाको कुरा छ, घाइतेका परिवारले उता भएका आफन्तलाई स्वदेश ल्याउन र यहाँ भएकाहरूको लागि उपचारका लागि पहल गरिदिनुपर्ने माग गरिरहेका छन्।

रुसी सेनामा पुगेर परिवारको सम्पर्कमा नआएकाहरूको लागि भने परिवारले खोजी गरिदिन आग्रह गरेका छन्। यस्ता विविध अपेक्षा पीडित र पीडित परिवारका छन्। तर, उनीहरु भने राज्यलाई विश्वास गर्न सक्ने अवस्थामा आफूहरू नभएको र मलाई नै पहलका लागि अनुरोध गरिरहेका छन्। समस्या अनुसारको अपेक्षा उहाँहरूको छ।

Kritu-Bhandari-1714205190.jpg
प्रधानमन्त्रीसँग पनि तपाईँहरूले मंगलबार भेट गर्नुभयो। रुसी सेनामा आबद्ध व्यक्तिहरू र पीडित परिवारको समस्या समाधान गर्न सरकारलाई कति समय दिनुभएको छ?

हामीले प्रधानमन्त्रीलाई पीडित परिवारको समस्यासँग जोडिएका विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका छौं। त्यसमा सरकारलाई अल्टिमेटम भनेर दिएका छैनौँ तर, हाम्रा जुन १३ बुँदे माग छन्, त्यो सम्बोधन नभए आमरण अनशनलाई निरन्तरता दिन्छौ भनेका छौं।

अब हामी दुई दिन हेर्छौ त्यसपछि पनि सरकार हाम्रा मागप्रति संवेदनशील नभए आमरण अनशन फेरि सुरु गर्छौ। हामीसँग त सरकारको लागि समस्या समाधान गर्ने रुसमा रहेका नागरिकको सबै विवरण छ, सरकारले त्यसलाई ग्रहण गरेर समस्या समाधानमा पहल गरोस् भन्ने चाहना हाम्रो  हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:४५
Weather Update