News Griha :: न्यूजगृह
पार्टी फुट्ने चर्चाबारे झलनाथ भन्छन्– कम्युनिस्ट विरोधी तत्वले हल्ला फैलाए 
फाइल तस्बिर

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजनको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्। 

केही दिनदेखि खनालले केही सांसदहरु लिएर नयाँ पार्टी बनाउने हल्लाकाबीच विज्ञप्ति जारी गर्दै उनले कम्युनिस्ट विरोधी तत्वहरुले हल्ला फैलाएको बताएका हुन्। 

Prabhu Bank

बुधबार विज्ञप्ति जारी गर्दै खनालले भनेका छन्, ‘केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’

पार्टी महाधिवेशनको तीव्र तयारीमा रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफ्नो पार्टीले नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्गतिर अघि बढेको बताए। 

त्यस्तै पार्टी विभाजन हुन लागेको भन्ने हल्लाबाट अविचलित भइ अघि बढ्न खनालले नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। 

पछिल्लो समय पार्टी भित्र देखिएको अन्तरविरोधका कारण एकीकृत समाजवादी विभाजनको बाटोमा अघि बढेको चर्चा चल्न थालेको छ। यसैबीच उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। यसैबीच एकीकृत समाजवादी पनि विभाजनमा जान लागेको चर्चा चल्न थालेपछि सोमबार पार्टीको संसदीय दलको बैठकमा सो विषयमा समेत समीक्षा गरिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४२
Weather Update