News Griha :: न्यूजगृह
पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल 
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव/फाइल तस्बिर।

काठमाडौं— पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए।

Prabhu Bank

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो। तर संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकिर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ।

मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो। सो निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने छ।

‘बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ,’ प्रवक्ता सुमनले भने, ‘बैठकपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने छ।’

पत्रकार सम्मेलन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमै आयोजना गरिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका छन्।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०६:३९
Weather Update