News Griha :: न्यूजगृह
सुनिता डंगोलको आग्रह- सीप सिकेर स्वदेश मै काम गर्छु भन्ने सोच बनाउनुहोला

काठमाडौं— सीप सिकेर स्वदेशमा काम गर्छु। नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रशिक्षार्थीहरूलाई आग्रह गरेकी छन्।

सीप मेलामा चलेका कक्षाको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीसँग अपेक्षासहितको आग्रह गरेकी हुन्। उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षण गरेकी थिइन्। 

त्यसक्रममा उनलाई शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजनहरू देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए। 

Prabhu Bank

त्यसक्रममा प्रशिक्षार्थीसँग अन्तरक्रिया गर्दै उपप्रमुखले उनीहरूका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन्। प्रशिक्षार्थीहरूले सीप विकासका विशिष्ट कक्षाको अवसरको अपेक्षा राखेका थिए। 

सीप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन्। २९ वटा पेशा राखिएकोमा मोबाइल रिपेयरिङका अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो। यस्तै टेलरिङ (ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ।

तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन्। रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ। एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्ब छैन।’ 

१० वटा विधामध्ये अटो मोबाइल्समा ३ वटा पेशासँग सम्बन्धित तालिम छन्। पहिलो पेशा अटो इलेक्ट्रिक हो। यो १५ दिन अवधिको हो। दोस्रो अटो एअर कन्डिसन हो। यो पनि १५ दिनकै हो। तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो। यसमा ३० दिनको कक्षा हुनेछ।

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन्। यी सबै तालिम ३० दिन अवधिका हुन्।  हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस तालिम छन्। यिमध्ये फास्ट फुड कुक १५ दिनको हो। अरु ७ दिन अवधिका हुन्। 

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन्। डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा र मोबाइल रिपेयरिङका कक्षा चलिरहेका छन्। यिमध्ये सीसीटीभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन्। 

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन्। वेल्डिङ पेशाको १५ दिन र  रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ।आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ। यसको अवधि १५ दिनको हुनेछ। 

गार्मेन्ट विधा (सातौँ) मा टेलरिङ र ड्रेस मेकर र फेसन डिजाइनिङ गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन्। यी दुवै १५ दिन अवधिका तालिम हुन्। टेलरिङ र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ।

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेशा समेटिएका छन्। यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५, १५ दिन अवधिका हुन्। मेकअप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन्। डिजाइनिङ विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ। 

पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन्। 

तालिमको अन्तिम २ दिन रोजगार मेला हुने र यस दिन रोजगारदाताले सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउने र धेरै बेरोजगारले रोजगार पाउन सक्ने महानगरले बताएको छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:०६
Weather Update