News Griha :: न्यूजगृह
सभामुख घिमिरेको तर्क– संसद्को आगामी अधिवेशन बिना अवरोध चलाउने बाटो खुल्यो 

काठमाडौं— संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकतोक बिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन्। 

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उनले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसद्लाई अगाडि बढाउन सबैको प्रभावकारी भूमिका रहने भन्दै त्यो बाटो खुलेको बताए। 

Prabhu Bank

उपप्रधान एवं गृहमन्त्री रावि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति गठनको माग प्रमुख प्रतिपक्षी दल कांग्रेसले गर्दै आएको छ।

यसअघि प्रतिपक्षको माग छल्न सरकारले हतार हतार संसद् अधिवेशन अन्त्य गरेको थियो। आगामी शुक्रबारदेखि सुरु हुनेगरि आह्वान भएको संसद्को बजेट अधिवेशनमा अवरोध हुन नदिन सभामुख घिमिरेले बैठक बोलाएका हुन्। 

बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस छानबिन समिति बनाउन लचिलो नभए पनि अधिवेशन सञ्चालनका लागि दलहरु सकारात्मक रहेको सभामुख घिमिरेको भनाइ छ।   

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आजको छलफलले २८ गतेबाट सुरु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजानका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ। शंका गर्नुपर्ने जस्तो आधार मैले देखेको छैन। आउने दिनहरुमा दलहरु गम्भीर हुनेछन् र उनीहरुले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउने कुरामा प्रभावकारी भूमिका खेल्नु हुन्छ। आजबाट त्यो दिशा खुलेको छ, अब त्यसमा आगडि बढ्छ।’

यस्तै, संसदीय प्रणालीका लागि लडेर देशका ठूला राजनीतिक दलहरुले यो व्यवस्था ल्याएको हुनाले अब समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्ने विश्वास पनि उनले व्यक्त गरेका छन्। 

उनले भने, ‘दायित्वको कुराहरु हो, जो देशका ठूला राजनीतिक दलहरु संसदीय प्रणालीको लागि लडेर यो व्यवस्था ल्याउनु भएको छ। संसदलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको गतिविधिको थलो बनाउने यसमा समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्नु हुन्छ। आउने अधिवेशन राम्रोसँग चल्छ भन्ने लाग्छ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:५३
Weather Update