News Griha :: न्यूजगृह
सभामुखसँगको छलफलमा कांग्रेसको अडान कायमै- छानबिन समिति नभइ मान्दैनौँ 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडानलाई कायमै राखेको छ। 

आज सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलमा कांग्रेसले आफ्नो अडान कायमै राखेको हो। 

Prabhu Bank

यसअघिको संसद् बैठकहरुमा कांग्रेसले सहकारी ठगी प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै छानबिन समितिको माग राख्दै संसद्मा अवरोध कायम गरेको थियो।  

आगामी वैशाख २८ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनमा पनि हुनसक्ने अवरोधलाई मध्यनजर गर्दै सभामुख घिमिरेले शीर्ष नेताहरुसँग छलफल गरेका हुन्। 

आजको बैठकमा पनि आफूहरुले संसदीय छानबिन समितिको मागलाई कायमै राखेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।  

आफूहरुले अहिले नै गृहमन्त्रीको राजीनामा नमागेको बताउँदै कम्तिमा छानबिन समिति बनाएर सहकारी ठगीको विषयमा सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने अडान कायम राखेको प्रमुख सचेतक लेखकले बताए।  

‘हामीले संसदीय जुन छानबिन समितिको माग गरेका थियौँ, हामीले त्यही कुरा राखेका छौँ। सरकार संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुँदा लाखौँ जनताले सहकारीमा करोडौँ–अर्बैँ रुपैयाँ बचत गरे, त्यसको हिनामिना र अपचलन भयो त्यसलाई छानबिन गर्न जरुरी छ। त्यसमा सरकारमा उपप्रधान एवं गृहमन्त्रीको पनि संलग्नता रहेको कुरा देखिएको छ। हामीले अहिले उहाँलाई शंकाको सुविधा दिएको छौँ तर हामीले उहाँको राजीनामा पनि मागेका छैनौँ। उहाँलाई अहिले नै मुद्दा चलाइहाल्न पर्छ भन्ने पक्षमा हामी छैनौँ। कम्तिमा उहाँको विषयमा संसदीय छानबिन समिति बनाएर  छानबिन गर्नुपर्छ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने।    

सरकारले आगामी अधिवेशनमा छानबिन समिति बनाउँछ भन्ने कुरा विश्वास गरेको बताए। संसद्को आगामी अधिवेशनमा सरकारको गतिविधि हेरेर आफूहरु अघि बढ्ने बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१८
Weather Update