News Griha :: न्यूजगृह
रास्वपाको निष्कर्ष– सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ। 

आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिएको रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलार्ई जानकारी दिए। 

Prabhu Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 

सहकारी ठगीमा पार्टी सभापति जोडिएको विषयमा यसअघि छानबिन समिति बनाउनुनपर्ने तर्क रास्वपाका नेताहरुले राख्दै आएकोमा आज बसेको संसदीय दलको बैठकले संसदीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको सांसद खनालले बताए। उनका अनुसार सो विषयमा सभापति लामिछाने र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले ‘ब्रिफिङ’ गरेका थिए।  

‘संसदमा कांग्रेसले उठाइरहेको सवालका विषयमा सभापति र प्रमुख सचेतकले ब्रिफिङ गर्नुभयो। हामीले यसअघि पनि भनेकै छौँ, सहकारी ठगी भनेर नाम जोडिएकै आधारमा संसदीय छानबिन समिति आवश्यक छैन,’ उनले भने, ‘आजको बैठकमा सहकारीको समस्याका विषयमा सरकारले समाधानको बाटो खोज्नुपर्ने तर व्यक्ति विशेषलाई जोडिएर छानबिन समिति माग गर्नु आवश्यक नरहेको हाम्रो निष्कर्ष हो।’  

त्यस्तै आजको बैठकमा आगामी बजेट अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल रहेको उनले बताए। 

वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनका सन्दर्भमा समीक्षा गर्ने तयारी गरिए पनि समय अपुग भएका कारण समीक्षा हुन नसकेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:२९
Weather Update