News Griha :: न्यूजगृह
जसपा नेपालका नेताहरुलाई सनाखत गराउँदै निर्वाचन आयोग 

काठमाडौं— निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको छ।   

जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेपछि आयोगले पार्टी गठन भएको २१ दिनभित्र अर्थात् आगामी जेठ १३ गतेभित्र सनाखत गर्न आग्रह गरेको हो। 

Prabhu Bank

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट बहुमत सदस्यसहित अशोक राईले आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। नयाँ दल दर्ताका लागि परेको निवेदनका आधारमा निर्वाचन आयोगले सोमबार अशोक राईको नेतृत्वमा नयाँ दल जसपा दर्ता गरी पार्टीलाई प्रमाणपत्र समेत दिइसकेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनभित्र सम्बन्धित कार्यालयमा गएर सनाखत गर्न आग्रह गरेको हो। 

आयोगका अनुसार प्रदेश सभा सदस्यको हकमा प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी र स्थानीय तहका जनप्रतिनिधिको हकमा जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रसहित सनाखत गर्न भनेको हो। 

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१/०१/२४ गतेको निर्णयबाट नयाँ गठन भएको ‘‘जनता समाजवादी पार्टी’’ मा सो दल गठन हुनुभन्दा तत्काल अघिको ‘‘जनता समाजवादी पार्टी नेपाल’’ को तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यहरुले त्यसरी नयाँ दल दर्ता भएको एक्काइस दिन (२०८१/०२/१३) भित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकृत समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिइ सनाखतका लागि स्वंय उपस्थित हुन यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले भनेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:२३
Weather Update