काठमाडौं— ललितपुर ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ।
आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए। घाइतेमध्ये ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनीहरूको उपचारका क्रममा किष्ट अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको छ। एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रूपा गिरीको आईसीयूमा उपचार भइरहेको छ। अर्का घाइते नित गिरीको अवस्था सामान्य छ।
गिरीलाई साधारण वार्डमा सारिएको छ। केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो।