News Griha :: न्यूजगृह
गण्डकीको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ  

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

सोमबार दिउँसो एमालेबाट २ मन्त्री नियुक्त गरेका हुन्। 

मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले प्रमुख प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

यसअघि मुख्यमन्त्री अधिकारीले नेकपा माओवादीबाट हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) लाई मन्त्री नियुक्त गरेका थिए। चुमान अर्थ र गुरुङ भौतिक पूर्वाधारमन्त्री हुन्। 

योसँगै मन्त्रिपरिषद्को मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ। 

आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएसँगै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यद्यपि उनले लिएको विश्वासको मत भने विवादमा परेको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्ने भए पनि सभामुखले ३० जनाले नै बहुमत पुग्ने दाबीसहित विश्वासको मत पाएको घोषणा गरेका थिए। त्यसको विरुद्ध नेपाली कांग्रेस गण्डकी प्रदेशले कानुनी उपचार खोज्ने तयारी गरेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:०३
Weather Update