News Griha :: न्यूजगृह
ओलीलाई वामदेवले भने– एमालेमा आउन चाहन्छु, शंका नगर्नुस् पार्टी फुटाउँदिन
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभा सदस्य एवं कम्युनिस्ट पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमै जान चाहेको बताएका छन्।   

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले यसअघि नेकपा विभाजनको आरोप आफूमाथि लागेको बताउँदै फेरि पनि एमाले गएर पार्टी फुटाउनेमा शंका नगर्न आग्रह गरे। 

Prabhu Bank

एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागि उक्त कार्यक्रममा गौतमले आफूबाट भएको गल्ती यसअघि नै  स्वीकार गरिसकेको समेत बताए।
  .
उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मआलोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे। 

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन् म बाट पनि भयो र मैले त्यो महशुस गरेँ। पछिल्लो पटक दुईवटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो,म कतैतिर पनि लागिन्। तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने वामदेव हो भन्छन्,’ उनले थपे, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि, केही हुन्छकि भनेर। मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु?’  

वामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको जिकिर गरे। उनले पार्टीले निष्काशन गरेपछि कुनै उपाय नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्मआलोचना गरी फर्किएको भन्दै अहिले नेकपा एमाले फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पारे। 

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्मआलोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शंका गरेको टिप्पणी गरे। 

उनले भने, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिएँ, मलाई कमाण्डर बनाउनु भयो भने फेरी त्यस्तै हुन्छकि, धेरै समर्थक आए भने फेरी पार्टी फुटाइदिने होकि वामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस्।’

गौतमले सँगै मञ्चमा रहेका ओलीलाई लक्षित गर्दै एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जिवन छउन्जेल क्रियाशील हुन चाहेको भन्दै थपे, ‘त्यसै वामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस् न। के गर्नुहुन्छ हेर्दै जाउँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झण्डा ओड्न पाउनुपर्छ। मेरो चाहना यत्ति हो।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:५९
Weather Update