News Griha :: न्यूजगृह
सवारी लाइसेन्समा देखिएको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई  निर्देशन दिएका छन्। 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा लाइसेन्सबारे उठेका सवाल र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई त्यस्तो निर्देशन दिएका हुन्।  

Prabhu Bank

‘सवारी चालक अनुमतिपत्रकाबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु। यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु, समस्या तत्काल समाधान गर्नुस,’ छलफलमा प्रधानमन्त्रीले भने।

छलफलमा दाहालले लाइसेन्स वितरणमा डिजिटल सिस्टमलाई व्यवस्थित गर्न समेत आग्रह गरेका छन्।  

‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो? यसको गम्भीरता हेरी सोही अनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नुस्,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री दाहालले छलफलमा नीति तथा कार्यक्रम र बजेट निर्माणको समय भएकाले लाइसेन्सको समस्या समाधान गर्न उपयुक्त हुने सुझाव प्रस्तुत गर्न समेत विभागका अधिकारीहरुलाई आग्रह गरेका छन्। 

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतको उपस्थिति थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:५६
Weather Update