News Griha :: न्यूजगृह
जङ्गलमा आगो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं— उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जङ्गलमा डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। 

गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उनले आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन्। 

Prabhu Bank

मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने, 'केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ। आगलागीले विपद्कै रूप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन। पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला। वनमा आगो लगाउनु अपराध हो। अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ। त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला।'

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारेमा सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गरे। 

लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोतसाधनको अभाव देखाउन नहुने बताए। दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको छ। त्यस्तै, १४० जना घाइते भएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:५२
Weather Update