
काठमाडौं— पर्सी आइतबार हुनगइरहेको उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ ।
बिहीबार मध्यराति १२ बजेदेखि आइतबार (१० वैशाख) सम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
‘प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी (२०७९) २४ चैतदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम (२०८०) ७ वैशाखको राति १२ बजेदेखि १० (वैशाख) मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।’
१० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।













