News Griha :: न्यूजगृह
राष्ट्रपतिसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएका जापानका परराष्ट्रमन्त्री कामिकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

Prabhu Bank

राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल–जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैँ जापानको उच्च सद्भाव महसुस गरेको पनि बताएका थिए। 

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त समेत व्यक्त गरेका थिए।

भेटमा विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएका थिए। 

उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताए।

उनले नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:५३
Weather Update