News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने 

काठमाडौं— गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गण्डकीमा आफूहरु तटस्थ बस्ने निर्णय गरेको न्यूजगृहलाई जानकारी दिए। 

पार्टीको कार्यसम्पदान समितिको बैठकले नै तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। 

Prabhu Bank

‘हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठकले नै गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिइ तटस्थ बस्ने निर्णय गरेको हो,’ उनले भने। 

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्। 

अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ। 

राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे) सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

सभामुखसमेत गणना गरेर पुर्याइएको बहुमत असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रिटलाई सर्वोच्च अदालतले खारेज गर्दै अधिकारीलाई विश्वासको मतमार्फत प्रदेशसभामा बहुमत पुष्टिका लागि अवसर दिएको थियो। 

सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने दाबी समर्थित देखिएको फैसला गरेपछि यो तर्कले अझै सभामुखको भूमिकालाई सहज बनाएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:१९
Weather Update