News Griha :: न्यूजगृह
सीमावासी भन्छन्- भारतीय सुरक्षाकर्मीको ज्यादतीले आक्रान्त छौं

रौतहट— रौतहटको सीमावर्ती क्षेत्रका स्थानीयको आफ्नै पीडा छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाइकल बाहेक सवारी साधन वारिपारि आवतजावतमै रोक लगाइएको छ। सीमावासीहरू पटकपटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य छन्।

सीमावर्ती परोहा नगरपालिका-९ रामपुर खापमा आयोजित 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम तथा अन्तरक्रियामा सहभागीले उक्त समस्या बारे जानकारी दिएका छन्।   

सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटद्वारा आयोजना सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरू गौर भन्सार पुगेर कारोबार गर्दा ठूलो समस्या हुनेगरेको बताएका थिए।

Prabhu Bank

उनीहरूले कतिपय साना व्यापारी गौर भन्सारसम्म पहुँच नभएको कारण बाध्य भएर अवैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौं राजश्व क्षति हुने गरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालन तर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए। 

त्यसैगरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोनाकालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरु हुन सकेको छैन। सीमासँग जोडिएका हजारौं परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजारमाथि निर्भर रहेका छन्।

यस्तो अवस्थामा आउँदा जाँदा भारतीय सीमा  सुरक्षाबल (एसएसबी)ले बिभिन्न बहानामा पटकपटक दुर्व्यवहार गर्ने गरेको सहभागीले पीडा पोखेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए। 

छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा भारतबाट आवतजावत भइरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको छ।

सहभागीहरूले सवारी आवागमन व्यवस्थापन, विवाह, पूजा तथा चाडपर्वमा आवश्यक सामान ल्याउन सहजिकरण, सीमाक्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए।

त्यसैगरी उनीहरूले कुखुरा तथा पशुपन्छी तस्करी नियन्त्रण, भारतीय नम्बर प्लेटका मोटरसाइकल निर्वाध नेपाल आउने गरेकोले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:३७
Weather Update