News Griha :: न्यूजगृह
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा

काठमाडौं— इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरू छलफलमा जुटेका छन्। एक वर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर सावित भएपछि समीक्षा गर्नुपर्ने अवस्थामा छ।

माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका भएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने बताएको छ। चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपा कै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरूले इलामको परिणामबाट नयाँ मिसनमा अघि बढ्नुपर्ने निचोडमा छन्।

Prabhu Bank

चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ। यद्यपि, इलामका जनताले घण्टी बजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ। उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ। बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ।

उपनिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए। उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए।

महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए। उनले सरकारमा पार्टीले गरेका कामहरूको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए। पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र ०८० मा रास्वपाका उम्मेदवारले शहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए। सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएपनि परिणाम खराब आएपछि गाउँमा संगठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ।

रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरू सहकारी ठगी प्रकरणमा मुछिएपछि जनलहर घटेको भन्ने विषयमा पार्टीले आन्तरिक छलफल गरेको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:२४
Weather Update