News Griha :: न्यूजगृह
उपनिर्वाचन परिणामले रास्वपा सचेत, नेताहरु देश दौडाहामा निस्किने
रास्वपा महामन्त्री डा. मुकुल ढकाल/फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

'२०८४ मा यस्तो परिणाम आए हामीलाई ठूलो क्षति पुग्ने थियो। जनताले बेलैमा घण्टी बजाइदिएका छन्। आजको बैठकको निष्कर्ष यही थियो। अब हामी पार्टी, संगठनलाई पुनः व्यवस्थित गर्नेछौं,' उनले भने।

इलामका जनताले घण्टी नबजाइ पार्टीलाई सांकेतिक घण्टी बजाइदिएकाले पार्टीको सिंहावलोकन जरूरी देखिएको पनि उनले बताए।
यसका लागि महामन्त्री सहितको टोली जेठको दोस्रो सातादेखि देश दौडाहामा निस्किने पनि उनले बताए।

यसैबीच वैशाख २९ का लागि तय भएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। महामन्त्रीले प्रतिवेदन तयार पारेपछि मात्रै बैठक बस्ने गरी सारिएको उनले बताए।

यस्तै, मन्त्रालय लगायत पार्टी सञ्चालनका लागि थप टिम बनाउने निर्णय पनि शुक्रबारको बैठकले गरेको छ। बनेका टिमहरू पुनर्गठन गर्ने र टिममा सहभागिताको हाजिरी हेरेर कार्यसम्पादन मूल्यांकन गरिने उनले बताए। यस्ता टिम बनाउन पार्टी महामन्त्रीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २१:५५
Weather Update