
काठमाडौं— सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडिओसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा शुक्रबार अनलाइनका कार्यकारी सम्पादक नविन ढुगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो।
सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कंडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडिओ उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ।
तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडिओ सामग्री प्रकाशन गरेको थियो ।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडिओ-भिडिओसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका हुन्।
सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।













