News Griha :: न्यूजगृह
भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं— भारतका प्रधानन्यायाधीश डा धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्। 

उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका चन्द्रचुडको टोलीलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

चन्द्रचुड शनिबार काठमाडौंमा आयोजना हुने न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ। केन्द्रीय बाल न्याय समन्वय समितिले आयोजना गर्ने सो कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

नेपाल बसाइँका क्रममा उनले प्रधानन्यायाधीश श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा समेत सामेल हुने छन्। उनी आइतबार साँझ स्वदेश फर्किने कार्यतालिका छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २०:०६
Weather Update