
काठमाडौं— सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।
आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर आज विश्वासको मत दिन एमाले तयार नभएरपछि शनिबार (भोलि) सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
‘आज मिति २०८१–०१–२१ गते अपरान्ह ५ः०० बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक कारणवश स्थगित भई बैठक मिति २०८१–०१–२२ गते शनिबार बेलुका ५ः३० बजे बस्ने व्यहोरा माननीय सभामुखज्यूको निर्देशनअनुसार सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभा सदस्य सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी गरेका थिए।
तर सत्तारुढ दल एमाले आन्तरिक छलफलको कारण देखाउँदै विश्वासको मतको विषयमा अनिर्णित बनेपछि बैठक स्थगित भएको हो।