News Griha :: न्यूजगृह
यसकारण आजका लागि अनिश्चित बन्यो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मत

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने तयारी गरे पनि प्रदेश सभा बैठक नै अनिश्चित बन्ने देखिएको छ। 

नेकपा एमालेले पार्टीभित्र थप आन्तरिक छलफल गर्ने र निर्णय लिने भनेपछि विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चित बनेको हो। 

केन्द्रमा शीर्ष नेताहरुबीच सुदूरपश्चिमको विषयमा छलफल चलिरहेको र प्रदेशमा पनि विभिन्न आन्तरिक विषयमा छलफल गर्नुपर्ने भएकाले आज विश्वासको मत दिने कुरा अनिश्चित बनेको सुदूरपश्चिम प्रदेश एमाले प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले न्यूजगृहलाई जानकारी दिए। 

‘विभिन्न आन्तरिक विषय मिलाउन पर्ने भएको छ। माथि पनि शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ, त्यसकारणले आज विश्वासको मत लिने जस्तो नदेखिएको हो,’ उनले भने। 

गत वैशाख १५ गते बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा एमालेबाट निर्वाचित दमबहादुर भण्डारी आज प्रदेश सभा बैठकमा उपस्थित हुन नसकेका कारण एमालेले उनलाई समेत सहभागि गराउन आजका लागि तयार नभएको अर्का प्रदेश सभा सदस्यले जानकारी दिए।  

नवनिर्वाचित भण्डारी पीतृशोकमा रहेको र १३ दिनको काम समेत नसकिएकाले उनलाई समेत सहभागि गराउन आजका लागि  एमालेले विश्वासको मत दिन उचित नठानेको ती सदस्यले बताए।  

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
उनलाई उनको दल एकीकृत समाजवादीसहित नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षको समर्थन रहेको छ।  

मुख्यमन्त्री सोडारीले आज अपरान्ह ५ बजे बस्ने भनिएको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर बैठक अनिश्चित बन्ने देखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:२१
Weather Update