
काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
अधिकारी गत चैत २५ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। सोही प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री अधिकारीलाई उनको दल नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेको समर्थन रहेको छ।
अधिकारीलाई मुख्यमन्त्री बनाउनका लागि सभामुखको समेत संलग्नता रहेको भन्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।
मुख्यमन्त्रीको नियुक्ती गैरसंवैधानिक रहेको दाबीसहित पाण्डेले दायर गरेको रिट सर्वोच्चले सोमबार खारेज गरेसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने बाटो खुलेको हो।