News Griha :: न्यूजगृह
मन्त्री बनाउने आश्वासन बाँड्दै, भोट माग्दै

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ र चितवनमा बुधबार र बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई र जीतनारायण श्रेष्ठलेलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन बाँड्दै भोट मागेका छन् । भट्टराई र श्रेष्ठ दुवै जना कांग्रेका नेता हुन् । 

बुधबार तनहुँको डुम्रेमा भएको चुनावीसभामा सभापति देउवाले यसअघि तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन बाँडेका थिए ।

‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ,’ देउवाले भनेका थिए, ‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’ बुधबार नै प्रधानमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गोविन्द भट्टराईलाई मन्त्री बनाउने आश्वासन बाँड्दै भाेट मागेका थिए ।

त्यसैगरी बिहीबार लोकतान्त्रिक–वाम गठबन्धनले चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले तनहुँकै चुनावीसभाकाे आश्वासन चितवनवासीमाझ दोहोर्‍याए ।

चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन देउवाले दिए । उनले भने,‘तपाईंहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’

देउवाले अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताउँदै देश विकासका लागि ढुक्क रहन आग्रह गरे ।

‘चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छौं । जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ’,सभापति देउवाले भने, ‘वि.सं. २००७, २०४७ साल र २०६२/६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन ।’

चितवनकाे चुनावीसभामा कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण,   नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य नारायण दाहाल, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सावित्रा भुसाल, जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २१:०५
Weather Update