News Griha :: न्यूजगृह
अर्को साता पानी पर्ने  

काठमाडौं— पछिल्लो समय पानी नपरेका कारण जमिन सुख्खा भइ डढेलोको समस्या बिकराल बनिरहेका बेला अर्को साता पानी पर्ने सम्भावना देखिएको छ। 

जल तथा मौसम विज्ञान विभागले आगामी साताको मौसम पूर्वानुमान सार्वजनिक गर्दै हल्का वर्षाको सम्भावना रहेको जनाएको हो। 

विभागले दिएको जानकारी अनुसार आगामी साताको सुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमाका पहाडी भू–भागका एक दुई स्थानमा मेघजर्गन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै साताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघजर्गन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  
त्यसैगरी साताको मध्य र अन्त्यमा देशभरका तरार्ई र पहाडका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ। 

विभागका अनुसार देशको अधिकांश स्थानहरुमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ, भने देशका अधिकांश स्थानमा अधिकतम तापक्रम औषतको तुलनामा भने घट्ने सम्भावना रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:४२
Weather Update