
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।
शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदैछन्।
नाउपाको रेशम पक्षधरले भने सोडारीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन (ह्वीप) जारी गरेको हो।
सुदूरपश्चिम प्रदेश नाउपाका प्रमुख सचेतक खुशीराम डगौरा थारुले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।
‘मिति २०८१/०१/२१ गते दिउँसो ५ः०० बजे बस्ने सुदूरपश्चिम प्रदेश सभामा माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारी ज्यूले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको मपक्षमा मतदान नगर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा, २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
सुदूरपश्चिममा नाउपाका ७ प्रदेश सभा सदस्य रहेका छन्। जसमध्ये २ प्रदेश सभा सदस्य अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा रहेका छन् भने अन्य ५ जना रेशम पक्षधर रहेका छन्। रञ्जिता पक्षका २ जना मन्त्री रहेका छन्। कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापालाई कृषिमन्त्री बनाइएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन्।