जापानका विदेशमन्त्री पर्सि नेपाल आउने, के-के छन् भ्रमणका एजेण्डा?

काठमाडौं— जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउने भएकी छन्। उनी एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नेछिन्।
भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध, विकास कार्यमा सहकार्यको सम्भावनाका बारेमा कुराकानी हुनसक्ने तर औपचारिक रुपमा कुनै पनि सम्झौता नहुने उनले बताए।
नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ।
नेपालस्थित जापानको दूतावासले पनि दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ०७:०७