News Griha :: न्यूजगृह
उपनिर्वाचन : सामग्री बुझेर मतदान केन्द्रमा पुग्दै कर्मचारी

तनहुँ— आइतबार हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले बिहीबारदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक पर्ने सबै सामग्री बुझाउन सुरु गरेको छ । उक्त कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझाउन थालिएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

‘सुरक्षा प्रबन्धसहित कर्मचारी मतदान केन्द्रमा जाने तयारीमा हुनुहुन्छ, आज (बिहीबार) साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्नेछ भनेर निर्देशन दिइएको छ’, उनले भने,‘निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर बुझाउने क्रम जारी छ ।’

प्रमुख ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:४५
Weather Update