News Griha :: न्यूजगृह
गर्मीले तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित

सप्तरी— गर्मीका कारण सप्तरीसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको हो ।

गर्मीले दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थ्यमासमेत प्रत्यक्ष असर पारिरहेको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार प्रभावित भएको छ ।

बिहान ७ बजेदेखि नै चर्को घाम लागेपछि सामान किनमेल गर्न आउनेहरूको संख्या घट्दो छ । दिउँसो बजारमा मानिसहरूको चहलपहल अत्यन्त कम हुने गरेको छ ।

गर्मीले दैनिकी प्रभावित भइरहेको स्थानीय बताउँछन् । सप्तरीमा अहिले तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म पुग्छ ।

गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बेला बढेको गर्मीले कामकाज गर्न समस्या भइरहेको दैनिक ज्यालामा काम गर्ने मजदुर बताउँछन् ।

त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंहलगायतका अस्पतालमासमेत बिरामीको चाप बढ्न थालेको छ । आकास्मिक कक्षमा निमोनिया, ज्वरो, झाडापखालाका बिरामी भर्ना भइरहेका छन् ।

बिरामीमध्ये बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएको अस्पताल आकस्मिक कक्षमा कार्यरत चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:०९
Weather Update