News Griha :: न्यूजगृह
आमसभामा रवि भन्छन्– म चितवनले रोपेको बिरुवा हुँ, मल हालिसक्नुभयो, यसपल्ट जल हाल्नुपर्नेछ

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो न्यायका लागि नभएर देशको न्यायका लागि चितवन आएको बताएका छन् ।

चितवनमा बिहीबार आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा रहेको बताए । उनले भने,‘तपाईं आफैंले गत निर्वाचनमा रोपेको बिरुवा हुँ म । तपाईंले मल पनि हालिसक्नुभयो । यसपल्ट तपाईंहरूले जल हाल्नुपर्नेछ ।’

उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्‌मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए । ‘फेरि देशलाई न्यायका लागि आएको छु । चितवनले देशलाई न्याय गर्नेछ । यो व्यक्ति जिताउन आएको होइन, युगलाई जिताउन आएको हो,’उनले भने ।

उनले गृहमन्त्रीको रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र गरेर पदबाट हटाएको पनि दाबी गरे । सभामा रवि भन्छन्,‘मैले गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षड्यन्त्र भएको हो ।’

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:५५
Weather Update