News Griha :: न्यूजगृह
काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौं— काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो। हामीलाई पनि यस्तै लागेको थियो। तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो। जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ।    

लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ दोलखाको डाँङडुँगे डाँडा। समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन्। डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो।

female_danfe_2-1714565706.jpg
सोही वडाका स्थानीय बासिन्दा जीतबहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाल लगायतका चराहरू पाइने सुनाए। काठमाडौंबाट अत्यन्तै नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाल लगायतका चरा हेर्न पाइने भए पनि जानकारीको अभावले यहाँ चरा पारखी वाइल्डलाइफ फोटोग्राफरहरूको ध्यान पुग्न नसकेको श्रेष्ठले बताए।  

female_danfe_2_1-1714565703.jpg
जीतबहादुर चलचित्र विकास बोर्डका बोर्ड सदस्य पनि हुन्। यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउँदै छ। यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ।

danfe_male_1-1714565702.jpg
घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र सो नजिकको जङ्गलमा बस्न रुचाउँछ डाँफे। लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भूभाग तथा लालीगुराँसको जङ्गलमा झर्छ। डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र बर्माको रैथाने चरा हो।   

dafe2_1-1714565700.jpg
नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ। हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू) मा यो चरा देखिने गरेको छ।

danfe_23_1-1714565699.jpg
नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ।
समाचार: न्यूज कारखानाबाट , तस्बिर: निरज भुषाल/ राइज मिडिया

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १८:०२
Weather Update