News Griha :: न्यूजगृह
चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो: बाबुराम

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोसा गर्न नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताए। 

‘चुनावपछि खोलो तर्यो लौरो बिर्सियो भने जस्तो भयो। प्रचण्ड जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो,’ उनले भने। 

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन्। ‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको ध्रुविकरण छ हामी त्यसमा आउँछौं भनेको हो। त्यहाँ पार्टी एकीकरण गर्ने कहिँ भनेको थिएन,’ भट्टराईले भने। 

उनले देशका पुराना पार्टीहरू भ्रष्टाचारमा डुबेको भन्दै सबै पुराना दल मक्की सकेको र भ्रष्टाचारमा लिप्त् भएको र जति गरे पनि नसच्चिने आरोप लगाए। 

उनले भने, ‘पुराना शक्तिहरूलाई जतिसुकै हामीले दया माया गरेपनि यी सच्चिनेवाला छैनन्। त्यो भ्रममा नपरौं। अब झन् हुँदैन। यी शक्तिहरूका हड्डीसमेत मक्की सकेको छ। यी भ्रष्टाचारका काण्डहरू हिम नदीको एउटा टुप्पो मात्र हो। भरियाहरु समातिएका छन्। तर नाइकेहरू समातिएका छैनन्। आलोपालो सत्तामा जान्छन् । जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन्। अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औंला देखाउँछन्।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:५८
Prabhu BankPrabhu Bank
Weather Update