काठमाडौं— भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न १० देशका १८ राजनीतिक दलहरुलाई निम्तो दिइएको छ।
भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न देशका राजनीतिकहरुलाई निम्ता दिएको हो।
भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले बुधबरा विज्ञप्ति जारी गर्दै नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको हो। यी दलका प्रतिनिधिलाई बीजेपी मुख्यालयमा आज उपस्थित हुन भनिएको छ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा बोलाइएको हो।
त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरुले भेटवार्ता गर्ने जनाइएको छ। साथै भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि प्रतिनिधिहरुले अन्तरक्रिया गर्ने कार्यक्रम छ।
कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरु सामेल हुनेछन्।