News Griha :: न्यूजगृह
२५ ग्राम सुन गायब भएपछि कतारबाट फर्किएका सितेन्द्रको एअरपोर्टबाटै अपहरण, कहाँ गयो, कसले लग्यो सुन?

काठमाडौं— सप्तरी राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए। दोहा एअरपोर्टमा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो। अलीले आफ्नो २५ ग्राम सुन नेपाल लगिदिए केही पैसा दिने बताए। 

२५ ग्राम सुन लैजानु अवैधानिक पनि थिएन। त्यसैले घर फर्किँदा सुन बोकिदिए वापत केही रकम आउँछ भने किन नल्याउने भन्ने उनलाई लाग्यो। ‘त्यसपछि मनसुरले भनेअनुसार मोबाइल नम्बर टिपेर सुन बोकेर आएको थिएँ,’ सितेन्द्र भन्छन्, ‘काठमाडौं ओर्लिनेबित्तिकै फोन पनि गरेको थिएँ।’

उनको भनाइमा, स्कुटरमा आएका एक व्यक्तिले त्यो सुन लगेका थिए। तर, मनसुरका भतिज अजिम अली र उनका साथी एमडी सनी अलाहीका अनुसार, उनीहरुले सुन नै पाएनन्। सुन नपाएपछि सितेन्द्रलाई कब्जामा लिएर उनीहरुले अजिमको सिनामंगलस्थित डेरामा लगे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अर्कैले सुन लगेको खुलेपछि अली र अलाहीले सितेन्द्रलाई बन्धक बनाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

‘कुटपिट गरेर उनले राजविराजस्थित घरमा फोन गरेर ४ लाख ८० हजार रुपैयाँ पनि माग गरेछन्,’ भट्टराईले भने, ‘सोमबारकै घटना भएपनि प्रहरीसम्म मंगलबार (आज) मात्र खबर आइपुग्यो, लगत्तै प्राविधिक पक्षको विश्लेषण समेत गरेर अनुसन्धान थालेका थियौं।’

कोठाबाट उद्धार गर्दा उनलाई बाँधेर कुटपिट गरेर घाइते बनाएको भेटिएको थियो। प्रहरीले अली र अलाहीलाई पक्राउ गरेको छ। उनीहरुले आफूहरुको सुन गायब बनाएकाले पैसा फिर्ता माग्न सितेन्द्रलाई कब्जामा लिएको दाबी गरेका छन्।

‘सुन कहाँ गयो, कसले लग्यो भन्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेका छौं,’ एसएसपी भट्टराई भन्छन्, ‘२५ ग्राम सुन ल्याउन मिल्ने भएपनि यो गिरोहले विभिन्न व्यक्तिलाई प्रयोग गरेर ल्याएको सुन काठमाडौंमा संकलन गर्ने गरेको जस्तो देखिन्छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:५१
विचार/ब्लग
Weather Update