काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् ।
बिहीबार ५ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहेपनि मिति भने तोकिनसकिएको बताइन् ।
उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरू मन्त्रालयहरूले प्राथमिकताका आधारमा सुझाव दिने बताइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेपनि बताइन् । ‘भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्,’ उनले भनिन् ।
मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका एजेन्डाहरू तय गर्ने पनि बताइन् ।













