News Griha :: न्यूजगृह
इलाममा रास्वपाले जमानत पनि नजोगाएपछि रविलाई सीके राउतको यस्तो आग्रह 
फाइल तस्बिर

काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले इलामको मत परिणामले नयाँ उदाएका राजनीतिक दलहरुको धरातल देखाइदिएको टिप्पणी गरेका छन्। 

मंगलबार बिहान सार्वजनिक अन्तिम परिणामपछि उनको दलले समेत जमानत जोगाउन नसकेपछि त्यस्तो प्रतिक्रिया दिएका हुन्। 

सामाजिक सञ्जालमा लेख्दै डा. राउतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत जस्ता पार्टीहरुलार्ई जनताले मत नदिए पनि विकासको अपेक्षा पूराना भन्दा नयाँलाई बढी गरिने गरेको बताए। साथै अपेक्षाकृत परिणामका लागि जनताले पनि पुनर्विचार गर्नुपर्नेमा जोड दिए। 

Prabhu Bank

‘हाम्रो धरातल देखिएको छ। र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ। मत नयाँलाई नदिने, अनि  सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

आफूले गणतन्त्रको सुदृढीकरणका लागि आन्दोलनको आह्वान गर्दा रास्वपाले आगामी निर्वाचनमा २ तिहाइ ल्याउने बताए पनि यसअघि बारा र अहिले इलाममा जमानत जफत हुने अवस्थाले रास्वपाका नेता र नेतृत्वलाई एकपटक सोच्न आग्रह गरे।  

‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो– मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो।  बारा र इलाममा जमानत जफत भएको भोग्नुभयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु,’ उनले भनेका छन्। 

त्यस्तै रास्वापाले इलाममा कम मत प्राप्त गरे पनि अपेक्षा भन्दा फरक नभएको बताए। साथै यही व्यवस्था यथास्थितीमा रहिरहने हो भने आगामी २०८४ को निर्वाचनमा नयाँ केही हुनेवाला नरहेको बताए। अहिलेको समस्या जस्तै ०८४ पछिको समस्या पनि त्यस्तै रहने बताए। 

इलाम–२ को उपनिर्वाचनमा मंगलबार आएको अन्तिम परिणाम अनुसाररास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले ५ हजार ५० मतमात्र पाएका थिए।

त्यस्तै जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ११८ मत प्राप्त गरे।  निर्वाचनमा रास्वपा र जनमतसहित पार्टी र स्वतन्त्र उम्मेदवार गरी १६ जनाको  जमानत समेत जफत भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४०
राजनीति
विशेष
Weather Update