News Griha :: न्यूजगृह
कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली— कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

नेपाली कांग्रेस प्रदेश सभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । 

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरेका छन् । 

गत २५ चैतमा नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो । 

योजनामन्त्री सिंह जाजरकोट प्रदेश सभा १, उद्योगमन्त्री विसी दैलेख क्षेत्र नं १(१) र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १(१) तथा ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:५९
Weather Update