News Griha :: न्यूजगृह
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक

काठमाडौं— सन २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनीसेफ) ले जनाएको छ।

यूनीसेफका अनुसार अफगानिस्तानमा बालबालिकाका लागि आवश्यक एक अर्ब ४० करोड डलर सहयोगको ३५ प्रतिशत मात्रै सुरक्षित गर्न सकिएको छ। यूनीसेफले मार्चमा देशको मानवीय अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गरेको थियो।

रिपोर्टले अफगानिस्तानमा बढ्दो गरिबीका लागि लामो समयदेखि चलिरहेको द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक मन्दी र बढ्दो बेरोजगारीलाई श्रेय दिएको जनाइएको छ। 

सन २०२४ को सुरुदेखि अहिलेसम्म अफगानिस्तानमा १४ हजार पाँच सय ७० सन्दिग्ध मामिला र दादुराबाट ७१ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ।

यूनीसेफका अनुसार बिरामीहरूमध्ये ११ हजारभन्दा बढी पाँच वर्षमुनिका बालबालिका छन् भने छ हजारभन्दा बढी दादुराका बिरामी महिला छन्। यूनीसेफले मानवीय साझेदारहरूलाई अफगानिस्तानमा महिलाहरूको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।

‘सेभ द चिल्ड्रेन’ ले अफगानिस्तानमा बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरेको बेला संयुक्त राष्ट्रसंघको यस्तो प्रतिवेदन आएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संगठनले पाकिस्तानबाट फर्केका दुई लाख ५० हजार अफगान बालबालिकाले खाना र आश्रयको अभावको सामना गर्नुपरेको जनाएको छ।  

विश्व खाद्य कार्यक्रमले हरेक महिना ६० लाख मानिसलाई खाना र नगद वितरण गरिरहेको अप्रिल २७ मा बताएको छ। 
    
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिस खाद्य असुरक्षा संकट र आपत्कालीन अवस्थाको मारमा छन्।

अफगानिस्तानमा जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट मागेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:४६
Prabhu BankPrabhu Bank
Weather Update