
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा एमाले निकट अनेरास्ववियूले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै ओलीले संविधानले नै प्रधानमन्त्रीलाई संसद् विघटनका लागि बाध्य पारेको भन्दै यो संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका हुन् ।
नयाँ सरकार गठनका विषयमा राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो नलागे प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।
ओलीले संविधान अनुसार देश चल्नुपर्ने भन्दै संविधानमा संसद्ले नभई अदालतले प्रधानमन्त्री खारेज र गठन गर्ने व्यवस्था नभएको धारणा राखे ।
उनले अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिन नसके कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेसले पनि विश्वासको मत लिन नसके संसद् विघटन हुने जिकिर गरे ।













