News Griha :: न्यूजगृह
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान
फाइल तस्बिर

काठमाडौं— आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्यांक सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीर्ईओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गरेका छन्। 

एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए। विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उनले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरेका थिए। 

आइतबार नै चीनको तथ्यांक सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन्। मस्क दिउँसो एक बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार भएका थिए। 

Prabhu Bank

ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्नका लागि सरकारको स्वीकृति नजिक पुगेको छ। 

बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ। यद्यपि उसले कडा तथ्यांक र गोपनीय कानुनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ।  

चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम) ले सन २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्यांक संकलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ। 

‘तीमध्ये छ कम्पनी (बिवाइडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्यांक सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्,’ सिएएएमले विज्ञप्तिमा भनेको छ।     

सांघाईको विशाल कारखानामा निर्मित टेस्लाको मोडल३ र मोडल वाइ सूचीमा थियो। कम्पनीको उन्नत सहायक ड्राइभिङ सुविधाले उसका कारहरूलाई पूर्णरूपमा स्वायत्त बनाउँदैन र टेस्लाले उसको अटोपाइलट र एफएसडी क्षमताहरूको प्रयोग ड्राइभरको सुपरीवेक्षणमा प्रयोग गर्नका लागि भएको बताएको छ। कम्पनीले एफएसडी अमेरिकामा आठ हजार डरल वा मासिक ९९ डलरको सदस्यतामा बिक्री गर्दछ। 

चीनमा एफएसडी र बाइडुसँग कथित साझेदारीका बारेमा एएफपीले गरेको प्रश्नमा टेस्लाले तत्काल जवाफ दिएको छैन। यसै महिनाको प्रारम्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा एक प्रश्नको जवाफमा मस्कले चीनमा एफएसडीको उपलब्धता ‘चाँडै नै सम्भव हुनसक्ने’ बताएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:०८
राजनीति
विशेष
Weather Update