News Griha :: न्यूजगृह
इलामको मतगणना आजै सक्ने तयारी, गणक टोली थपिँदै 

इलाम— मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम २ को मतगणनामा गणक टोली थप्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न गणक टोली थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना भइरहेको छ। अझै तीन पालिकाको मतगणना बाँकी छ। तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। 

‘हिजोदेखि दुई ठाउँमा गणना भइरहेको छ’, घिमिरेले भने, ‘अहिले दलहरूसँग सल्लाह गरेर थप एक ठाउँ थप्ने तयारी छ।’ 

Prabhu Bank

घिमिरेका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सकेसम्म छिटो गणना सक्ने योजनामा छ। 

१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो। त्यसमध्ये २२ हजार हाराहारी मत गणना भइसकेको छ। अझै पनि ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ। 

अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ मतले अग्रता लिएका छन्। नेम्वाङले ८ हजार ८९८ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले १ हजार ३०५ मत ल्याएका छन्। इलाम २ मा १९ जना प्रतिस्पर्धी मैदानमा छन्। चार उम्मेदवारबाहेक अरूले नगण्य मत प्राप्त गरेका छन्।

एकीकृत समाजवादीका जितबहादुर राईले अहिलेसम्म २४० मत प्राप्त गरेका छन्। जनमत पार्टीको प्रेमकुमार थाम्सुहाङले ५४ मत प्राप्त गरेका छन्।

इलाम २ मा अहिलेसम्म २१ हजार ८१० मत गणना भएको छ। यो सदर  मत हाे।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:५१
Weather Update