News Griha :: न्यूजगृह
सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। 

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा वैशाख १० गते पेसी तोकिएको थियो। 

तर न्यायाधीशद्वयले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेर आजका लागि पेसी तोकेका हुन्।  

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा अदालतले वडाबाट जन्ममितिको कागजात मगाउन आदेश दिएको थियो। 

 जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो।

फागुन २५ मा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो। 

जिल्ला अदालतको फैसलाविरुद्ध लामिछाने उच्च अदालत गएका हुन्।   

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:५३
Weather Update