काठमाडौं— काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउ 'वाइवाइ' मा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार बाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ।
चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
ब्याच नं. ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेश गर्न महानगरपालिकाले निर्देशन दिएको छ।
महानगरपालिकाले सो चाउचाउको नमूना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए।
खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन्। यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ।
महानगरले उक्त प्रमाण भेटाएपछि चौधरी ग्रुपले वाइवाइले गुणस्तरका कारण एसिया, युरोप र अमेरिकामा प्रशिद्धी पाइरहेको भन्दै प्रष्टीकरण दिएको छ। उसले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने दाबी गर्दै वाईवाई विश्वका ३५ भन्दा बढी देशमा बिक्री हुँदै आएको जनाएको छ।
सीजी भन्छ, ‘आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ। विश्वव्यापी रूपमा वाईवाई इन्स्ट्यान्ट नूडलल्सको वृद्धि पछाडिको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो। सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको छ।
सीजीले कच्चा सामान फ्याक्ट्री पुग्नुअघिदेखिनै गुणस्तरमा ध्यान दिएको र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्ने बताएको छ।
प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पूरा गरेको हुनुपर्ने भन्दै सीजी भन्छ, ‘यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ। प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ। दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन्।’
सीजीले यो जाँचका बारेमा थप अगाडि भनेको छ, ‘प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन्। कुनै त्रुटि देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ। यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ।’
परीक्षण निकै नै गम्भीर हुने भन्दै सीजीले अगािड भनेको छ, ‘उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुनः गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ। उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि नमूना संकलन गरिन्छ। प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ।’
सीजीले आफूसँग योग्य प्राविधिक रहेको दाबी गर्दै भनेको छ, ‘सीजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन्। यस कार्यलाई प्रत्येक उत्पादन इकाइमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन्। निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याब गरी गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ।
गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सीमित हुँदैन। पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पलसमेत लिइन्छ। यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ। प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परीक्षण गरिन्छ।’
सीजीले परीक्षणका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित रहेको पनि जनाएको छ।